दाङ। दाङको तुलसीपुर उपमहानगरपालिकास्थित एक रेस्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असोज २० गते राति करिब ११:१५ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–५, सल्यान रोड नजिकै रहेको ‘हिमाल रेस्टुरेन्ट एण्ड कटेज’ मा जुवातास खेलिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले रेस्टुरेन्टमा छापा मारी जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ डाँडापातु बस्ने ४० वर्षीय रोशन श्रेष्ठ, वडा नं. ८ अस्वार बस्ने ४० वर्षीय लिलामणि बस्नेत, वडा नं. ५ बस्ने ४३ वर्षीय रोशन कुमार लामिछाने, सोही वडा बस्ने ३२ वर्षीय पवन भारती, वडा नं. ७ झुमरे बस्ने ३९ वर्षीय नेव बहादुर के.सी. र सल्यानको दार्मा गाउँपालिका–४ बस्ने ५२ वर्षीय कृष्ण बहादुर शाही रहेका छन्।
प्रहरीले जुवाको खालबाट नगद १ लाख १ हजार ८ सय २० रुपैयाँ बरामद गरेको जनाएको छ। यस्तै, जुवा खेल्न प्रयोग गरिएको ५ गड्डी तास तथा नखोलिएका १० गड्डी तास समेत प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका सबैजनालाई जुवा सम्बन्धी कसूरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय दाङबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) डा. हेम बहादुर के.सी. ले जानकारी दिएका छन्।
प्रहरीले जुवातासलगायतका गैरकानुनी गतिविधि नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ। पक्राउ परेकामाथि अनुसन्धानपछि कानुनअनुसार थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
