समाचार

क्रियाशील सदस्यबाटैप्रत्यक्ष निर्वाचित हुने सभापतिकोव्यवस्था गर्नुपर्छ : अमरसिंह पुन

काठमाडाैं । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले क्रियाशिल सदस्यहरुले नै पार्टी सभापति प्रत्यक्ष रुपमा छान्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको आन्तरिक निर्वाचन प्रणाली परिवर्तन गरी क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचित सभापति चयन गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारसमेत रहेका उनले पार्टीको वर्तमान विधानले आन्तरिक प्रतिष्पर्धालाई अस्वस्थ बनाएको दाबी गरे । वडा तहदेखि केन्द्रसम्म प्रत्यक्ष निर्वाचित सभापति चयन गर्ने प्रणाली आवश्यक रहेको उनको भनाई छ ।

क्रियाशील सदस्यबाट प्रत्यक्ष सभापति निर्वाचित गर्ने र निर्वाचित सभापतिले समावेशी तथा क्षमताका आधारमा कार्यसमिति निर्माण गर्ने व्यवस्था गर्नुपर्ने उनले बताए । उनले १५ औँ महाधिवेशनपछि महासमिति बैठक बोलाएर विधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

उनले भने ‘काँग्रेसको वडा तहदेखि केन्द्र तहसम्म हामी प्रतिस्पर्धा गर्छौँ । हाम्रो विधानको व्यवस्थाले नै हाम्रो पार्टीका साथीहरूसँग एकता गर्न दिँदैन, एकले अर्कासँग मिल्न दिँदैन । त्यसकारण प्रतिस्पर्धा यो गलत छ । हामी ६ हजार ७४३ वडा र विश्व जगतमा रहने जनसम्पर्क समितिका नेपाली काँग्रेसका क्रियाशील सदस्यबाट हामी निर्वाचित प्रत्यक्ष निर्वाचित सभापति बनाउने, सभापतिले आफ्ना कार्यसमितिमा क्यापेबल, समावेशी अथवा भूगोल मिलाएर कार्यसमिति बनाएर देशको नेतृत्व गर्नुपर्छ, पार्टीको नेतृत्व गर्नुपर्छ । यसलाई कार्यान्वयन गर्नलाई पनि मेरो महामन्त्रीको उम्मेदवार हो ।’

काँग्रेसले विगतमा गरेका राजनीतिक परिवर्तन र योगदानलाई वर्तमान पुस्तासँग जोडेर लैजान नसक्दा हाल पार्टीभित्र राजनीतिक उतारचढाव आएको उनको भनाई छ ।

वीपी कोईरालादेखि सुशील कोईराला र शेरबहादुर देउवासम्म काँग्रेसले मुलुकका महत्वपूर्ण राजनीतिक परिवर्तनको नेतृत्व गरेपनि त्यसको इतिहास नयाँ पुस्तालाई प्रभावकारी रूपमा बुझाउन नसकिएको उनले बताए । पार्टीको नेतृत्वमा पुरानो पुस्तालाई विस्थापित गर्ने नभई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उनको भनाई छ ।

पार्टीभित्रको समावेशी प्रतिनिधित्वलाई थप बलियो बनाउने उद्देश्यले महामन्त्री पदमा उम्मेदवारी दिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *