समाचार

चार वर्षपछि कमब्याक ओलीको फोनपछि धर्मनाथ साहले पाए एमालेको टिकट

प्रतिनिधिसभा निर्वाचनको मुखमा सिरहा क्षेत्र नम्बर ४ को राजनीतिक समीकरण एकाएक फेरिएको छ । चार वर्षअघि नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा गएका पूर्वमन्त्री धर्मनाथप्रसाद साह पुनः एमालेबाट उम्मेदवार बनेपछि यो क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको हो । विशेष कुरा के छ भने साहलाई टिकटको प्रस्ताव स्वयं एमाले अध्यक्ष केपी शर्मा ओली ले गरेका थिए ।

२०७८ सालमा एमाले विभाजन हुँदा साह माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा गएका थिए र पार्टीका केन्द्रीय उपाध्यक्षसमेत बनेका थिए । पहिलो संविधानसभा सदस्यसमेत रहेका साह एमालेबाट सामान्य प्रशासनमन्त्री भइसकेका अनुभवी नेता हुन् । माओवादी केन्द्रसहितको एकताबाट बनेको नेकपामा पनि उनी एकता प्रक्रियाको पक्षमा उभिएका थिए ।

यसपटक सिरहा–४ बाट उम्मेदवार बन्ने प्रारम्भिक सूचीमा साहको नाम रहे पनि नेकपाबाट पूर्वमाओवादी नेता अजयशंकर नायकले टिकट पाएपछि साह टिकटविहीन बनेका थिए । यहीबीच उम्मेदवारी दर्ताको अघिल्लो दिन माघ ५ गते साँझ उनको मोबाइलमा एमाले अध्यक्ष ओलीको फोन आयो । ओलीले टिकट नपाएको थाहा पाएपछि ‘आफ्नै पार्टीबाट उठ्नुस्’ भन्दै टिकट दिने प्रस्ताव गरेका थिए । साहका अनुसार ओलीले ‘उठ्ने भए म टिकट पठाइदिन्छु’ भनेपछि उनले सहमति जनाएका थिए ।

ओलीसँगको संवादपछि केही समयमै एमालेका प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठले साहलाई फोन गरी टिकट पठाउने तयारी भइरहेको जानकारी दिएका थिए । भोलिपल्ट साह सिरहा पुगेर निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरे । चार वर्षपछि पुराना एमाले सहकर्मीसँग अंकमाल गर्दै जुलुसमा सहभागी हुनु आफूका लागि भावनात्मक क्षण भएको साहले बताए ।

साहलाई उम्मेदवार बनाएपछि यसअघि टिकट पाएका बिल्टु यादवले पार्टी निर्णय मान्दै उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश इञ्चार्ज श्रेष्ठले माथिबाट साहको नाम आएपछि यादवलाई ब्याक हुन आग्रह गरेका थिए ।

अघिल्लो निर्वाचनमा साह यही क्षेत्रबाट नेकपा एसका उम्मेदवार थिए । त्यसबेला कांग्रेससँग गठबन्धन रहेको थियो । उक्त चुनावमा जसपाका उम्मेदवार वीरेन्द्रप्रसाद महतो विजयी भएका थिए ।

यसपटक सिरहा–४ मा पाँच जना पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएको छ । जनमत पार्टीबाट अघिल्लो निर्वाचनका विजेता तथा पूर्व वनमन्त्री वीरेन्द्रप्रसाद महतो उम्मेदवार छन् । जसपा नेपालबाट पूर्व सञ्चारमन्त्री राजकिशोर यादव, नेकपाबाट पूर्व सामान्य प्रशासन मन्त्री अजयशंकर नायक र बहुजन शक्ति पार्टीबाट पूर्वमन्त्री विश्वेन्द्र पासवान चुनावी मैदानमा छन् ।

अनुभवी नेताहरूको भीडन्तका कारण सिरहा–४ लाई यसपटक ‘हेभीवेट’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *