नेपालगन्ज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सोमबार नेपालगन्जमा उत्साहपूर्ण र भव्य स्वागत गरिएको छ। पश्चिम नेपाल केन्द्रित निर्वाचन प्रचार अभियान अन्तर्गत सुदूरपश्चिमतर्फ प्रस्थान गर्ने क्रममा शाह सोमबार नेपालगन्ज आइपुग्नु भएको हो।
मौसम प्रतिकूलताका कारण हवाई उडान ढिलाइ हुँदा निर्धारित समयभन्दा करिब पाँच घण्टा ढिलो नेपालगन्ज पुगेका शाहलाई नेपालगन्ज विमानस्थलमा सयौँ समर्थकले स्वागत गरे। विमानस्थलबाट खुला जिपमा सवार हुँदै उहाँले सडक छेउछाउमा उभिएका स्थानीयलाई हात हल्लाउँदै अभिवादन स्वीकार गर्नुभएको थियो।
नेपालगन्ज बजार हुँदै जिल्ला प्रवेश गरेका शाहको स्वागत रास्वपाको जिल्ला पार्टी कार्यालयमा पनि भव्य रूपमा गरिएको थियो, जहाँ ठूलो संख्यामा समर्थक तथा नेता–कार्यकर्ता उपस्थित थिए। बिहानैदेखि विमानस्थल र पार्टी कार्यालय परिसरमा समर्थकहरूको उल्लेख्य भीड देखिएको थियो।
विमानस्थलमा बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार तथा रास्वपाका केन्द्रीय सदस्य खगेन्द्र सुनार, क्षेत्र नम्बर २ का उम्मेदवार विवेककुमार श्रेष्ठ, निवर्तमान सांसद लक्ष्मी तिवारी, स्थानीय नेता निलराज अधिकारी, बुद्धिसागर सुवेदी लगायतले वरिष्ठ नेता शाहलाई स्वागत गर्नुभएको थियो।
यसैबीच, शाहद्वारा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भए पनि कार्यालय वरपर अत्यधिक भिड जम्मा भएकाले उद्घाटन कार्यक्रम स्थगित गरिएको रास्वपाका नेता बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो।
नेपालगन्जको कार्यक्रमपछि वरिष्ठ नेता शाह कोहलपुर हुँदै बर्दिया जिल्ला प्रवेश गर्नुभएको छ। उहाँ बर्दिया हुँदै कैलाली पुग्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
