समाचार

कांग्रेस उम्मेदवार खड्काको प्रतिबद्दता: जनताको विश्वास टुट्न दिने छैन

माघ १२,सुर्खेत-

नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार विष्णु बहादुर खड्काले जनताले दिएको विश्वास कुनै पनि हालतमा टुट्न नदिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। निर्वाचन लक्षित भेटघाट तथा पार्टी संगठन सुदृढीकरणका क्रममा नेता–कार्यकर्ता र आम नागरिकसँग संवाद गर्दै उहाँले कांग्रेसप्रति जनतामा रहेको भरोसालाई अझ मजबुत बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताउनुभयो।

खड्काले लोकतन्त्र, संविधान र जनताको अधिकार जोगाउने ऐतिहासिक दायित्व कांग्रेसको काँधमा रहेको उल्लेख गर्दै पार्टीभित्र देखिने साना मतभेद र असन्तुष्टिलाई पन्छाएर एकताबद्ध ढंगले अघि बढ्न आग्रह गर्नुभयो। “जनताको भरोसामाथि राजनीति टेकेर मात्रै देशमा स्थायित्व र विकास सम्भव हुन्छ,” उहाँले भन्नुभयो, “विश्वास टुट्ने हो भने लोकतन्त्र नै कमजोर हुन्छ।” उहाँले चुनावी अभियानलाई मर्यादित, अनुशासित र जनमुखी बनाउन कार्यकर्तालाई निर्देशन दिँदै घर–घरमा पुगेर कांग्रेसको नीति, सिद्धान्त र भावी कार्ययोजना स्पष्ट रूपमा राख्न आग्रह गर्नुभयो। विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको उल्लेख गर्दै खड्काले जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधान नै आफ्नो राजनीतिक यात्राको केन्द्रबिन्दु हुने स्पष्ट पार्नुभयो।

खड्काले विगतमा कांग्रेस नेतृत्वमा भएका लोकतान्त्रिक उपलब्धि स्मरण गराउँदै ती उपलब्धिलाई संस्थागत गर्ने जिम्मेवारी अहिलेको पुस्तामा आएको बताउनुभयो। उहाँले व्यक्तिगत स्वार्थ, गुटगत राजनीति र नकारात्मक प्रचारबाट टाढा रहँदै सत्य र तथ्यका आधारमा जनतामाझ जान कार्यकर्तालाई आह्वान गर्नुभयो। कार्यक्रममा उपस्थित नेता–कार्यकर्ताले खड्काको नेतृत्वमा एकताबद्ध भएर चुनावी अभियान अघि बढाउने प्रतिबद्धता जनाएका थिए। स्थानीयदेखि राष्ट्रिय स्तरसम्म कांग्रेसलाई बलियो बनाउँदै जनताको विश्वास कायम राख्ने अभियानलाई तीव्र बनाइने उनीहरूको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *